कृषिका समसामयिक विषयमा सञ्चार संवाद सम्पन्न, दिगो कृषि र नीतिगत सुधारमा जोड
काठमाडौं । खाद्यका लागि कृषि अभियानद्वारा आयोजना गरिएको कृषिका समसामयिक विषय केन्द्रित “सञ्चार संवाद तथा अन्तरक्रिया कार्यक्रम” शङ्करापुर, काठमाडौंमा सम्पन्न भएको छ। मिति २०८३ वैशाख ९ गते आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी, युवा किसान, कृषि अभियन्ता तथा अभियानका सदस्य गरी करिब ३० जनाको सहभागिता रहेको थियो।अभियानका संयोजक उद्धव अधिकारी, युवा किसान दिपेश नेपाल तथा अभियानका सदस्यहरूले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए। कार्यक्रममा पत्रकारहरूको तर्फबाट अनाजका अध्यक्ष किरण आचार्यले किसानका मुद्दालाई तथ्यपरक र प्रभावकारी रूपमा समाजसम्म पुर्याउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। कार्यक्रममा “अबको बाटो रासायनिक कि जैविक?”, “युवाले खेती गर्न छाडे भविष्यको कृषि कस्ले गर्छ?” तथा “मिडियाले किसानका समस्यालाई नीतिगत बहससँग कसरी जोड्न सक्छ?” जस्ता प्रश्नमाथि समेत गम्भीर छलफल भएको थियो। कार्यक्रमले दिगो, आत्मनिर्भर तथा किसानमैत्री कृषि प्रणाली निर्माणका लागि नीति, व्यवहार र सञ्चार क्षेत्रबीच अझ सशक्त सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको आयोजकले जनाएको छ। कार्यक्रमको सहजीकरण शिक्षाकर्मी टीका भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा वातावरणमैत्री तथा दिगो कृषिलाई केन्द्रमा राख्दै खाद्य तथा कृषि प्रणालीमा देखिएका चुनौती, सम्भावित समाधान र सञ्चार तथा लेखनको भूमिकाबारे खुला छलफल गरिएको थियो। छलफलका क्रममा बीउ सम्प्रभुता, अनुदानको अवस्था, रासायनिक मल तथा विषादीको प्रभाव, कृषि संरचना र सङ्घीयताको प्रभाव, रैथाने ज्ञानको संरक्षण, वन्यजन्तुले कृषिमा पारेको असर, कृषि उपज आयातमा निर्भरता, भूमि उपयोग, युवालाई कृषिप्रति आकर्षित गर्ने उपाय, कृषि बजेट तथा सञ्चारमाध्यमको भूमिकाजस्ता विषयमा विस्तृत बहस भएको छ।