चारदिने चीन भ्रमणमा परराष्ट्रमन्त्री खनाल, लगानी सम्मेलनमा सहभागी हुने
परराष्ट्रमन्त्री शिशिर खनाल चीनका विदेशमन्त्री वाङ यी को निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्। बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समय अनुसार आज अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। चीन भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना समकक्षी वाङ यीसँग नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्। उनले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनमा समेत सहभागिता जनाउने छन्, जसको उद्देश्य नेपालमा वैदेशिक लगानी आकर्षित गर्नु हो। साथै चिनियाँ उद्यमी तथा व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।