राजनीतिसँगै व्यवसायमा गिरीको सक्रियता, सामाखुसीमा खोले अरबिका कफी
काठमाडौं । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका यदु कुमार गिरीले विदेशको आकर्षक आम्दानी छाडेर स्वदेशमै उद्यमशीलताको नयाँ यात्रा सुरु गरेका छन् । पाँच वर्ष दक्षिण कोरियामा बिताएर नेपाल फर्किएका गिरीले काठमाडौंको सामाखुसी टाउन प्लानिङ क्षेत्रमा अरबिका स्पेसियालिटी कफीको नयाँ शाखा सञ्चालनमा ल्याएका हुन् । पछिल्लो समय नेपालमा कफी संस्कृतिको विस्तारसँगै गुणस्तरीय कफीप्रति युवापुस्ताको आकर्षण बढिरहेको छ। यही सम्भावनालाई मध्यनजर गर्दै गिरीले आफ्नै लगानीमा कफी व्यवसाय सुरु गरेका हुन्। उनी विदेशमा सिकेको अनुभव र कार्य संस्कृतिलाई नेपालमै उपयोग गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने उद्देश्यले व्यवसायमा होमिएको बताउँछन्। “विदेशमा कमाइ राम्रो भए पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोच सधैं थियो,” गिरी भन्छन्, “नेपाल फर्किएपछि रोजगारी खोज्नेभन्दा पनि रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ कफी व्यवसायमा लागेको हुँ।” नुवाकोट स्थायी घर भएका गिरी व्यवसायसँगै राजनीतिमा पनि सक्रिय छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय विभागका सदस्यसमेत हुन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै उनले निजी क्षेत्रमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने बताउँछन् । सामाखुसीमा सञ्चालनमा आएको नयाँ शाखाले कफी पारखीहरूलाई गुणस्तरीय कफी, सहज वातावरण र उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखेको गिरीले बताए। उनका अनुसार नेपाली युवाले विदेशिने बाध्यता कम गर्न स्वदेशमै उद्यम र लगानीको वातावरण विस्तार हुन आवश्यक छ। विदेशको अनुभवलाई स्वदेशको विकाससँग जोड्ने गिरीको प्रयासले वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।