गुगलले ल्यायो जिमेल प्रयोगकर्ताका लागि नयाँ सुविधा, अब पुरानो खाता नखोली युजरनेम परिवर्तन गर्न सकिने
काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी गुगलले आफ्ना प्रयोगकर्ताका लागि निकै प्रतीक्षित सुविधा सार्वजनिक गरेको छ। अब जिमेल प्रयोगकर्ताले नयाँ खाता नखोली नै आफ्नो जिमेल युजरनेम परिवर्तन गर्न सक्नेछन्। यसअघि जिमेल ठेगाना परिवर्तन गर्नका लागि नयाँ खाता खोल्नुपर्ने बाध्यता थियो, जसका कारण पुराना इमेल, फोटो र ड्राइभ फाइलहरू व्यवस्थापन गर्न कठिन हुन्थ्यो। तर, अब प्रयोगकर्ताले ‘एट’ (@) भन्दा अगाडिको भागलाई आफ्नो आवश्यकताअनुसार परिवर्तन गर्न सक्नेछन्।
यो नयाँ सुविधा चरणबद्ध रूपमा विश्वभरका प्रयोगकर्ताका लागि उपलब्ध गराइँदै छ। गुगलले यसलाई क्षेत्रीय र खातागत आधारमा विस्तार गरिरहेको हुनाले सबै प्रयोगकर्ताले तत्काल यो सुविधा नपाउन पनि सक्छन्। यस प्रक्रियामा प्रयोगकर्ताको सबै इमेल, फोटो, ड्राइभ फाइल र खाताको इतिहास पूर्ण रूपमा सुरक्षित रहनेछ।
यस सुविधाको प्रयोग गर्दा केही नियम र सीमाहरू तोकिएका छन्। जब प्रयोगकर्ताले आफ्नो जिमेल ठेगाना परिवर्तन गर्छन्, पुरानो ठेगाना स्वतः ‘अल्टरनेट इमेल’ वा उपनामको रूपमा रहनेछ। यसको अर्थ पुरानो ठेगानामा आउने इमेलहरू नहराउने र प्रयोगकर्ताले दुवै ठेगानाबाट गुगल सेवाहरूमा लग-इन गर्न सक्नेछन्। यद्यपि, प्रयोगकर्ताले १२ महिनाको अन्तरालमा बढीमा तीन पटकसम्म मात्र आफ्नो जिमेल ठेगाना परिवर्तन गर्न पाउनेछन्।
हाल यो सुविधा केवल @gmail.com मा अन्त्य हुने ठेगानाहरूका लागि मात्र सीमित राखिएको छ। यदि तपाईं आफ्नो खातामा यो सुविधा उपलब्ध छ वा छैन भनी जाँच गर्न चाहनुहुन्छ भने, आफ्नो गुगल अकाउन्ट पेजमा जानुपर्ने हुन्छ। त्यहाँ रहेको ‘पर्सनल इन्फो’ ट्याबमा गई ‘इमेल’ विकल्प छनोट गर्नुपर्छ। त्यसपछि ‘गुगल अकाउन्ट इमेल’ भित्र ‘चेन्ज गुगल अकाउन्ट इमेल’ को विकल्प देखिएमा तपाईंले सजिलै आफ्नो नयाँ युजरनेम राख्न सक्नुहुनेछ।
यो परिवर्तन विशेष गरी व्यावसायिक कारण, गोपनीयता वा टाइप गर्दा भएका गल्तीहरू सच्याउन चाहने प्रयोगकर्ताका लागि निकै उपयोगी सावित हुनेछ। गुगलले प्रयोगकर्ताको सुविधालाई मध्यनजर गर्दै ल्याएको यो अपडेटले डिजिटल जीवनलाई थप व्यवस्थित बनाउन मद्दत गर्ने विश्वास लिइएको छ।