२०८३ भाद्र १५ गते, सोमबार
सेयर

शैक्षिक परामर्श क्षेत्र व्यवस्थित बनाउन संयुक्त प्रेस विज्ञप्ति

काठमाडौं । नेपालका विभिन्न शैक्षिक परामर्श संस्थाहरूले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारसँग माग गर्दै संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन्। स्वतन्त्र शैक्षिक परामर्श संघ, नेपाल (FECON), राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA), एईरी नेपाल (AAERI Nepal) र नेपाल शैक्षिक परामर्श सेवा संघ (NECSA) ले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै शैक्षिक परामर्श व्यवसायलाई केवल व्यापारिक गतिविधि नभई शैक्षिक, सामाजिक तथा आर्थिक विकाससँग जोडिएको क्षेत्रका रूपमा लिनुपर्ने बताएका हुन्। विज्ञप्तिमा नेपाल सरकारको संस्था दर्ता तथा नवीकरण प्रक्रिया लामो समयदेखि अस्पष्ट र अव्यवस्थित रहेको उल्लेख गरिएको छ। संस्थाहरूले वि.सं. २०७५ देखि २०८० सम्म नयाँ दर्ता तथा नवीकरण प्रक्रिया प्रभावित भएको भन्दै तत्काल पारदर्शी र प्रभावकारी ढंगले दर्ता प्रक्रिया खुला गर्न माग गरेका छन्। त्यस्तै, इजाजतपत्र नवीकरण नभएका संस्थाहरूलाई सहज रूपमा नवीकरणको अवसर दिनुपर्ने, सामान्य प्रशासनिक त्रुटिका आधारमा व्यवसायीलाई पक्राउ गरी नियन्त्रणमा लिने कार्य रोक्नुपर्ने र कानुनी प्रक्रिया स्पष्ट बनाउनुपर्ने माग पनि गरिएकोछ। संस्थाहरूले केही प्रदेशमा हालसम्म शैक्षिक परामर्श सेवा (कन्सल्टेन्सी) दर्ता खुला नभएको उल्लेख गर्दै दर्ताविहीन रूपमा सञ्चालन भइरहेका संस्थाहरूलाई व्यवस्थित रूपमा दर्ता प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरेका छन्। विज्ञप्तिमा अनुसन्धान तथा कानुनी कारबाही गर्दा कानूनी शासन, प्राकृतिक न्यायको सिद्धान्त र “दोष प्रमाणित नभएसम्म निर्दोष” भन्ने आधारभूत न्यायिक मान्यताको पूर्ण पालना गर्नुपर्नेमा पनि जोड दिइएको छ। त्यसैगरी, शैक्षिक परामर्श व्यवसायमा दक्षता र उत्तरदायित्व बढाउन तालिम तथा लाइसेन्स प्रणाली लागू गर्नुपर्ने, साथै विदेश अध्ययनमा जाने विद्यार्थीका लागि उद्धार तथा सहजीकरण कोष स्थापना गर्नुपर्ने माग गरिएको छ।

यो खबर सेयर गर्नुहोस्