सार्वजनिक सवारीको वार्षिक करमा वृद्धि, सञ्चालन खर्च बढ्ने
काठमाडौं । सरकारले व्यावसायिक तथा भाडामा प्रयोग हुने सार्वजनिक सवारी साधनहरूको वार्षिक आयकर दर बढाएको छ। यातायात व्यवस्था कार्यालयमार्फत सवारी साधन दर्ता वा नवीकरण गर्दा अनिवार्य रूपमा बुझाउनुपर्ने वार्षिक करको दर परिमार्जन गरिएसँगै अब सार्वजनिक सवारी सञ्चालनको लागत बढ्ने भएको छ। नयाँ व्यवस्थाअनुसार सवारी साधनको वर्गीकरण तथा इन्जिन क्षमताका आधारमा वार्षिक करमा १ हजार रुपैयाँदेखि २ हजार ५ सय रुपैयाँसम्म वृद्धि गरिएको छ। परिमार्जित दरअनुसार १३०० सीसीसम्मका कार, जिप, भ्यान तथा माइक्रोबसको वार्षिक कर ५ हजार ५ सय रुपैयाँबाट बढाएर ६ हजार ५ सय रुपैयाँ पुर्याइएको छ। त्यसैगरी, ४००० सीसीभन्दा माथिका ठूला सवारी साधनले अब वार्षिक ११ हजार रुपैयाँ कर तिर्नुपर्नेछ। मध्यम तथा ठूला व्यावसायिक सवारीतर्फ मिनी ट्रक र मिनी बसको वार्षिक कर ९ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने ठूला ट्रक र बसको कर १२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ। सरकारको यो निर्णयसँगै सार्वजनिक तथा व्यावसायिक सवारी साधनको सञ्चालन खर्च बढ्ने व्यवसायीहरूको भनाइ छ। कर वृद्धिको प्रभाव यातायात क्षेत्रको लागत तथा भाडादरमा समेत पर्न सक्ने अनुमान गरिएको छ।