प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा अनुमोदित, आजै शपथ लिँदै
संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएका डा. मनोजकुमार शर्माले आजै नेपालको प्रधानन्यायाधीशको पद तथा गोपनीयताको शपथ लिने भएका छन्। राष्ट्रपति भवन शीतल निवासमा साँझ ६ बजेर १० मिनेटका लागि शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले उनलाई शपथ गराउनेछन्। मंगलबार दिउँसो बसेको संघीय संसद्को संसदीय सुनुवाइ समितिको बैठकले डा. शर्माको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। सुनुवाइका क्रममा उनले न्यायालय सुधार, छिटो न्याय सम्पादन र न्यायिक पारदर्शितालाई प्राथमिकतामा राख्ने कार्ययोजना प्रस्तुत गरेका थिए। सांसदहरूले उठाएका विभिन्न प्रश्न तथा उजुरीबारे पनि उनले जवाफ दिएका थिए। नयाँ प्रधानन्यायाधीशबाट न्यायालयप्रतिको जनविश्वास थप मजबुत हुने अपेक्षा गरिएको छ।