परराष्ट्रमन्त्री शिशिर खनाल : सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारतबीच देखिएका सीमा विवादहरू कूटनीतिक वार्ता र संवादकै माध्यमबाट समाधान गर्न नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। भारत भ्रमणका क्रममा नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल–भारतबीचका सीमासम्बन्धी समस्या समाधानका लागि वार्ता र कूटनीतिक संयन्त्र नै उपयुक्त माध्यम भएको बताएका हुन्। एक प्रश्नको जवाफमा मन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको दोहोर्याउँदै यसबारे नेपालले भारत र चीन दुवै देशसमक्ष आफ्नो आधिकारिक धारणा स्पष्ट गरिसकेको जानकारी दिए। उनका अनुसार नेपाल–भारत सीमारेखा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको ऐतिहासिक आधारमा रहेर विवादित विषयहरू समाधान गर्नुपर्ने आवश्यकता छ। “हामी सीमा विवाद कूटनीतिक प्रक्रियाबाटै समाधान गर्न चाहन्छौँ,” मन्त्री खनालले भने।नेपालले लामो समयदेखि उठाउँदै आएको सीमा सम्बन्धी विषयलाई आपसी संवाद र मित्रतापूर्ण सम्बन्धमार्फत समाधान गर्ने आफ्नो नीति दोहोर्याएको छ।