अत्यधिक गर्मीपछि कञ्चनपुरका पालिकाद्वारा विद्यालयमा बिदा
अत्यधिक गर्मी बढ्न थालेपछि कञ्चनपुरका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिन थालेका छन्। विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै भीमदत्त र कृष्णपुर नगरपालिकाले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। भीमदत्त नगरपालिका ले जेठ ११ देखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ। शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको हो। उक्त बिदा गर्मी बिदाबाट कट्टा गरिने जनाइएको छ। त्यस्तै कृष्णपुर नगरपालिका ले पनि आइतबारदेखि लागू हुने गरी तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ। नगर प्रमुख हेमराज ओझाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बिदा दिइएको बताएका छन्। यता शुक्लाफाँटा नगरपालिका ले पनि मौसमको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ। शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्टका अनुसार आवश्यक परे बिदाबारे निर्णय गरिनेछ।शिक्षकहरूका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा टाउको दुख्ने, कक्षाकोठामै निदाउने र पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको छ। धेरै विद्यालयमा पङ्खा नहुँदा तथा टिनको छाना भएका कक्षाकोठामा अत्यधिक गर्मी हुने भएकाले पठनपाठन प्रभावित भएको गुनासो गरिएको छ। हाल कञ्चनपुर र कैलालीमा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ।