जातीय विभेद अन्त्यका लागि थप प्रतिबद्ध बन्न राष्ट्रपतिको आह्वान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै विभेदमुक्त, समावेशी र सभ्य समाज निर्माणका लागि थप प्रतिबद्ध बन्न आह्वान गर्नुभएको छ। बिहीबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भावको कामना गर्नुभएको हो। उहाँले यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन समाज निर्माणतर्फ अग्रसर हुन प्रेरणा प्रदानगरेको बताउनुभयो। राष्ट्रपतिले नेपालको संविधानले विविधताबीचको एकता, सहिष्णुता र सद्भावलाई आत्मसात् गर्दै सबै प्रकारका जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैङ्गिक विभेदको अन्त्य गर्ने संकल्प गरेको उल्लेख गर्नुभयो। वि.सं. २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको दिनको स्मरणमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस मनाइँदै आएको छ।