देशभर मुस्लिम समुदायले धूमधामका साथ मनाउँदै बकर इद
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । बिहीबार बिहानैदेखि मुस्लिम समुदायका मानिसहरू मस्जिद तथा इदगाहमा भेला भई आफ्नो धार्मिक परम्पराअनुसार नमाज पढ्दै शान्ति, सद्भाव र समृद्धिको कामना गरेका छन् । नमाजपछि एकआपसमा शुभकामना आदानप्रदान गर्दै कुर्बानी दिने परम्परा पनि निभाइएको छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा मनाइने बकर इद मुस्लिम समुदायको महत्वपूर्ण पर्व मानिन्छ । यस अवसरमा घरघरमा विभिन्न प्रकारका मिठाई, फलफूल तथा मासुका परिकार तयार गरी परिवार तथा आफन्तसँग खुसी साटासाट गर्ने चलन रहेको छ । हिन्दु धर्मावलम्बीहरूले दशैँलाई विशेष पर्वका रूपमा मनाएझैँ मुस्लिम समुदायले पनि बकर इदलाई ठूलो धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा मनाउने गर्दछन् ।