प्रधानमन्त्रीको उपस्थितिको मागमा संसद् अवरुद्ध, बैठक बिहीबारसम्म स्थगित
प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि संसद् बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह को उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि आज तेस्रो पटक सञ्चालन गरिएको बैठक पनि प्रभावकारी रूपमा अघि बढ्न सकेन । सभामुख डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्ने प्रयास गर्नुभए पनि प्रतिपक्षी सांसदहरूले पुरानै अडान कायम राख्दै नाराबाजी र अवरोध जारी राख्नुभएको थियो । त्यसपछि सभामुख अर्यालले भोलि बस्ने बैठकमा प्रधानमन्त्री शाह स्वयं उपस्थित हुने र आफ्नो धारणा पनि राख्ने जानकारी गराउँदै बैठक स्थगित गर्नुभएको हो । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी तथा राप्रपा का सांसदहरूले सामूहिक रूपमा विरोध जनाएका थिए । संसद्को गतिरोध अन्त्यका लागि अब भोलिको बैठकलाई निर्णायक रूपमा हेरिएको छ ।