जनभावना समेटिने विधेयक बनाउन कानुनमन्त्री गौतमको आग्रह
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले समयअनुसारको सोच, आवश्यकता र जनभावनालाई समेट्ने गरी विधेयक निर्माण गर्न सम्बन्धित मन्त्रालयलाई आग्रह गर्नुभएको छ। आगामी आर्थिक वर्षमा संसदमा पेस गरिने विधेयकहरूको सूची निर्माणबारे शिक्षा तथा खेलकुद मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग भएको छलफलमा मन्त्री गौतमले असार मसान्तभित्र विधेयकको प्राथमिकता सूची बुझाउन अनुरोध गर्नुभयो। उहाँले पछिल्लो परिवर्तनको भावना र आवश्यकतालाई कानूनमा रूपान्तरण गर्न समयमै तयारी गर्नुपर्नेमा जोड दिनुभयो। छलफलमा शिक्षा मन्त्री सस्मित पोख्रेल ले आधुनिक शिक्षाको आवश्यकतालाई सम्बोधन गर्ने गरी दीर्घकालीन र दिगो कानून निर्माण गरिने बताउनुभयो। यस्तै, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले अन्तर–मन्त्रालय समन्वयमार्फत प्रभावकारी कानुन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सरकारको सय बुँदे कार्ययोजना कार्यान्वयन तथा सेवा प्रवाह सुधारका लागि आवश्यक कानुन निर्माण र संशोधनलाई तीव्रता दिन कानुन मन्त्रालयले विभिन्न मन्त्रालयसँग निरन्तर छलफल गरिरहेको जनाएको छ।