संविधान संशोधनको गृहकार्यमा एमाले, सुझाव कार्यदलको पहिलो बैठक सम्पन्न
काठमाडौं । नेकपा एमालेले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठक आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सम्पन्न भएको छ। उपाध्यक्ष विष्णु प्रसाद पौडेलको संयोजकत्वमा बसेको बैठकले संविधान संशोधनका लागि सुझाव संकलन तथा अध्ययन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र विद्यमान संविधानले अवलम्बन गरेको शासन प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउन विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट सुझाव संकलन गरी प्रस्ताव तयार गर्ने निष्कर्ष निकालेको छ। संविधान कार्यान्वयनका क्रममा देखिएका सबल तथा कमजोर पक्ष र जटिलताबारे अध्ययन गर्न अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरिएको छ। उक्त उपसमितिलाई सुझाव संकलनको विस्तृत कार्ययोजना तथा कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने जिम्मेवारी दिइएको छ। बैठकले अन्य राजनीतिक दल तथा उनीहरूले गठन गरेका संविधान संशोधन सम्बन्धी कार्यदलहरूसँग संवाद, छलफल र अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ। साथै, कार्यदलको सदस्य सचिवको जिम्मेवारी महेशकुमार बर्तौलालाई प्रदान गरिएको छ।