प्रधानमन्त्रीको अनुपस्थितिमा संसद तनावग्रस्त, विपक्षीको विरोधबीच बैठक अघि बढाइयो
संघीय संसद्मा आज पनि राजनीतिक तनाव चुलिएको छ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको संसदमा उपस्थितिको माग गर्दै लगातार बैठक अवरुद्ध गरेका छन् । नेकपा एमाले र नेकपाका सांसदहरूले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर जवाफ दिनुपर्ने अडान दोहोर्याइरहेका बेला श्रम संस्कृति पार्टीका सांसदहरूले भने पम्प्लेटसहित विरोध जनाएका छन् । बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरूले प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेपछि सभामुख डीपी अर्याल प्रधानमन्त्रीसँग छलफल गर्न पुगेका थिए । प्रधानमन्त्रीसँग भेटपछि सभामुख पुनः संसद बैठकमा फर्किएर कार्यसूची अघि बढाउने प्रयासमा लागेका थिए । तर, विपक्षी सांसदहरू वेल नजिक पुगेर नाराबाजीमा उत्रिएपछि संसद बैठक फेरि तनावग्रस्त बनेको थियो । विपक्षीको अवरोधबीच पनि सभामुख अर्यालले बैठक सञ्चालनलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर संसदमा बढ्दो विवादले राजनीतिक माहोल थप तातेको छ ।