२०८३ भाद्र १५ गते, सोमबार
सेयर

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत, संसद्मा माफी माग्नुपर्छ : ऐनबहादुर महर

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत भएको बताएका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै महरले प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भन्दै आलोचना गरे। लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको उल्लेख गर्दै उनले यस्ता संस्थाप्रति जिम्मेवार व्यवहार आवश्यक रहेको बताए। “हिजो प्रधानमन्त्रीको उपस्थिति छापामार शैलीमा भएको थियो। सदन, व्यवस्था र संविधान नेपाली सहिदहरू र अग्रजहरूले ठूलो बलिदान र संघर्षबाट ल्याएको व्यवस्था हो। देशका लागि हाम्रा पुर्खाले धेरै रगत बगाएका छन्,” महराले भने। प्रधानमन्त्रीले संसद्बाट छिमेकी मुलुकको भूमि मिचिएको भन्ने अभिव्यक्ति हचुवाका भरमा दिएको आरोप लगाउँदै महरले त्यसले अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय हितमा नकारात्मक असर पार्न सक्ने बताए। उनले उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन र प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्ने माग समेत गरे। महरले तथ्य र प्रमाणबिना यस्ता संवेदनशील विषयमा अभिव्यक्ति दिन नहुने भन्दै सरकारलाई जिम्मेवार र संयमित हुन आग्रह गरे।

यो खबर सेयर गर्नुहोस्