लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्री नियुक्त
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गर्नुभएको छ। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरिएसँगै नयाँ कार्यविभाजनसमेत गरिएको हो। पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत नेकपा एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। यस्तै, जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालय सम्हाल्दै आउनुभएका आदेशकुमार अग्रवालको स्थानमा अहिर नियुक्त हुनुभएको हो। नवनियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गते सोमबारका लागि तय गरिएको छ।