सीमा मुद्दामा प्रधानमन्त्रीलाई ‘खलनायक’ बनाउन खोजिएको भन्दै सांसद धितालको आपत्ति
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले ‘खलनायक’ बनाउन खोजेको भन्दै आपत्ति जनाएकी छन्। बिहीबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सांसद धितालले प्रधानमन्त्रीले संसद्मा उठाएको राष्ट्रिय महत्त्वको विषयलाई राजनीतिक दाउपेचको माध्यम बनाइएको आरोप लगाएकी हुन्। उनले नेपाल–भारत सीमा सम्बन्धी विवाद दशकौँदेखि समाधान हुन नसकेको उल्लेख गर्दै यस्तो संवेदनशील र राष्ट्रिय सरोकारको विषयलाई राजनीतिक आरोप–प्रत्यारोपको विषय बनाउनु उचित नहुने बताएकी छन्। धितालले राष्ट्रिय हितसँग जोडिएका विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै सीमा समस्याको समाधानका लागि गम्भीर र जिम्मेवार पहल आवश्यक रहेको उल्लेख गरेकी छन्।